अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको पहल
- २४ कार्तिक २०८२
- २ मिनेटको पढाई
वासिङ्टन- अमेरिकाको संघीय सरकार बन्द (शटडाउन) ४० दिनसम्म निरन्तर जारी रहँदा आइतबार सिनेट दुर्लभ सप्ताहन्त सत्रमा बसेर समाधानतर्फ निर्णायक कदम चालेको छ।
सदनले पारित गरेको खर्च विधेयकलाई अघि बढाउने वा नगर्ने निर्णय गर्दै सरकार पुनः सञ्चालन गर्ने बाटो खोल्ने उद्देश्य राखिएको छ। सिनेटमा प्रस्ताव अघि बढाउन कम्तीमा ६० मत आवश्यक छ, जसका लागि रिपब्लिकन, मध्यमार्गी डेमोक्रेट र ह्वाइट हाउसबीच केही दिनदेखिको वार्ताले सहमति सम्भव बनाएको छ।
सिनेटका बहुमत नेता जोन थुनले सदनद्वारा पारित प्रस्तावलाई अघि बढाउने र त्यसपछि ‘मिनीबस’ नामक व्यापक विनियोजन प्याकेजमार्फत दीर्घकालीन कोष विस्तार गर्ने रणनीति तयार पारेका छन्। आइतबार तीन दीर्घकालीन खर्च विधेयक सार्वजनिक गरिएको छ, जसलाई रिपब्लिकनको समाधान योजनाको आधार मानिएको छ।
सिएनएनका अनुसार यो सम्झौता थुन, ह्वाइट हाउस र डेमोक्रेटिक सिनेटर जीन शाहिन, म्यागी हसन तथा स्वतन्त्र सिनेटर एङ्गस किङबीच भएको हो। सम्झौतामा डेमोक्रेटहरूको पुरानो मागअनुसार स्वास्थ्य बीमा कर क्रेडिट विस्तार गर्ने भविष्यको मतदानसमेत समावेश गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै सटडाउन अन्त्य हुने आशा व्यक्त गर्दै भने, “हामी सटडाउनको अन्त्य नजिकै छौँ। अवैध आप्रवासीलाई कुनै रकम दिने सहमति छैन, डेमोक्रेटहरूले अब यो बुझिसकेका छन्। चाँडै समाधान हुनेछ।”
सम्भावित सम्झौताले अस्थायी ‘स्टपग्याप’ उपायमार्फत जनवरीसम्म कोष विस्तार गर्नेछ, जुन प्रमुख संघीय एजेन्सीहरूलाई बजेट प्रदान गर्ने ठूलो विनियोजन प्याकेजसँग जोडिएको छ। आइतबार साँझ मतदान हुने अपेक्षा गरिएको थियो।
तर हाउस डेमोक्रेटहरूले प्रस्तावित सम्झौताप्रति कडा आलोचना गर्दै सोमबार आफ्नै बैठक बोलाएका छन्। यदि प्रस्ताव पारित भयो भने सिनेटले हाउस–पारित विधेयकमाथि मतदान गर्नेछ र अन्ततः राष्ट्रपति ट्रम्पको डेस्कमा पुग्नेछ। यसरी एक महिनाभन्दा बढी समयदेखि संघीय सेवा प्रभावित बनाएको सटडाउन अन्त्य हुने सम्भावना देखिएको छ, यद्यपि सम्पूर्ण प्रक्रिया पूरा हुन अझ केही दिन लाग्ने अनुमान गरिएको छ।