सन् २०२० को निर्वाचन उल्ट्याउने प्रयासमा संलग्न भनिएका गिउलियानीलगायत ७० जनालाई ट्रम्पद्वारा आममाफी
- २४ कार्तिक २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन परिणामलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका आफ्ना शीर्ष सहयोगीहरूलाई आममाफी दिनुभएको छ।
ट्रम्प प्रशासनका ‘पार्डन एटोर्नी’ एड मार्टिनले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै पूर्व राष्ट्रपति वकिल रुडी गिउलियानी, सिड्नी पावेल, पूर्व कर्मचारी प्रमुख मार्क मिडोजलगायत ७० भन्दा बढी व्यक्तिलाई “पूर्ण र बिना शर्त” क्षमादान दिइएको घोषणा गरेका छन्।
सूचीमा रहेका नामहरू एरिजोना, जर्जिया र मिशिगनजस्ता निर्णायक राज्यहरूमा मतदाता नामावली परिवर्तन गर्ने योजनामा संलग्न भएको आरोपमा मुछिएका थिए। ती राज्यहरूमा सन् २०२० को निर्वाचनमा जो बाइडेन विजयी भएका थिए।
ट्रम्प र उनका सहयोगीहरूको समर्थनमा रहेको उक्त षड्यन्त्रले देशभर प्रदर्शनलाई उक्साएको थियो, जसको चरम रूप सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवन (क्यापिटल)मा भएको हिंसात्मक आक्रमणमा देखिएको थियो।
चार पृष्ठ लामो क्षमादान पत्रमा उल्लेख गरिएका व्यक्तिहरूमध्ये कसैलाई पनि संघीय स्तरमा प्रत्यक्ष अभियोग लगाइएको थिएन। तर यो कदमले भविष्यमा सम्भावित प्रशासनलाई उनीहरूविरुद्ध मुद्दा चलाउनबाट रोक्न सक्ने विश्लेषकहरूको भनाइ छ।
माफी पाएकामध्ये चुनाव प्रमाणीकरण रोक्ने रणनीति प्रस्ताव गरेका कानुनी विज्ञ जोन इस्टम्यान र लामो समयदेखि ट्रम्पका सल्लाहकार रहेका बोरिस एप्स्टेन पनि छन्।
ट्रम्पले विगतमा संघीय अपराधका लागि आफूलाई नै माफी दिने अधिकार रहेको दाबी गर्दै आएका भए पनि यसपटक उक्त सिद्धान्तको परीक्षण भने गरिएको छैन। क्षमादान पत्रमा उनले स्पष्ट रूपमा भनेका छन्, “यो माफी अमेरिकी राष्ट्रपतिलाई लागू हुँदैन।”