२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सन्नी देओलको आग्रह– “धरमजी स्थिर हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्”

सन्नी देओलको आग्रह– “धरमजी स्थिर हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्”

मुम्बई- बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रलाई सोमबार मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको समाचार सार्वजनिक भएपछि प्रशंसकहरूमा चिन्ता बढेको छ। धेरै कलाकारहरू समेत अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

यसबीच धर्मेन्द्रका सुपुत्र सन्नी देओलले आधिकारिक जानकारी दिँदै बुबाको अवस्था स्थिर रहेको र निरन्तर चिकित्सकीय निगरानीमा रहेको बताएका छन्। उनले सबैलाई सकारात्मक रहन र गलत अफवाह नफैलाउन आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सन्नी देओलको टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “श्री धर्मेन्द्रको अवस्था स्थिर छ। थप विवरण उचित समयमा उपलब्ध गराइनेछ। कृपया गलत सूचनाहरू नफैलाउनुहोस् र परिवारको गोपनीयताको सम्मान गर्नुहोस्।”

धर्मेन्द्रकी धर्मपत्नी हेमा मालिनीले पनि सामाजिक सञ्जालमार्फत प्रशंसकहरूको चिन्ताप्रति आभार व्यक्त गर्दै उनको अवस्था स्थिर रहेको जानकारी दिएकी छन्।

सोमबार साँझ धर्मेन्द्रका परिवारका सदस्यहरू सन्नी देओल, बबी देओल, करण देओल र राजवीर देओल अस्पताल पुगेका थिए। साथै, सलमान खान, गोविन्दा र अमिषा पटेलजस्ता चर्चित कलाकारहरूले पनि भेट गरेका थिए।

धरमजी बलिउडका सर्वाधिक प्रिय अभिनेतामध्ये एक हुन्। ‘शोले’, ‘सीता और गीता’, ‘राजा जानी’, ‘जुगनू’, ‘धरम वीर’ लगायत असंख्य लोकप्रिय चलचित्रमा उनको अभिनय अविस्मरणीय छ। हालै सन् २०२३ मा करण जोहर निर्देशित ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका धर्मेन्द्र निकट भविष्यमा ‘इक्कीस’ चलचित्रमा देखिने तयारीमा छन्।

अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ र सम्पूर्ण भारतभरका प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरिरहेका छन्।