२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

पाकिस्तानको अदालत बाहिर आत्मघाती विस्फोट, १२ जनाको मृत्यु

पाकिस्तानको अदालत बाहिर आत्मघाती विस्फोट, १२ जनाको मृत्यु

पाकिस्तान- पाकिस्तानको राजधानी इस्लामाबादस्थित जिल्ला अदालत बाहिर मङ्गलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। गृहमन्त्री मोहसिन नकवीले घटनाबारे जानकारी दिँदै विस्फोट न्यायिक परिसर नजिकै भएको पुष्टि गरेका छन्।

प्रहरी र उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए। शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा पुर्‍याइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारीले अदालत परिसरभित्र प्रवेश गर्ने प्रयास गरेको तर कडा सुरक्षा घेरा पार गर्न नसकेपछि बाहिरै प्रहरीको गाडीलाई लक्ष्य बनाएको बताइएको छ। विस्फोटका कारण वरिपरिका गाडीमा आगो लाग्नुका साथै क्षति पुगेको छ।

फरेन्सिक टोलीले घटनास्थलमा प्रमाण संकलन गर्दै आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ। जिल्ला प्रशासनले अदालत परिसर खाली गराएको छ भने सुरक्षा निकायहरूले व्यापक खोजी अभियान थालेका छन्।

हालसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। तर सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै सिन्ह्वाले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित संगठन तेहरीक–ए–तालिबान पाकिस्तान (TTP) संलग्न हुन सक्ने आशंका व्यक्त गरेको छ।

यस घटनाले राजधानी इस्लामाबादमा सुरक्षा चुनौती पुनः गम्भीर रूपमा सतहमा ल्याएको छ।