२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

रोनाल्डोको घोषणा– सन् २०२६ अन्तिम विश्वकप

रोनाल्डोको घोषणा– सन् २०२६ अन्तिम विश्वकप

रियाद- पोर्चुगलका महान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सन् २०२६ मा हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने स्पष्ट घोषणा गरेका छन्। क्लब र अन्तर्राष्ट्रिय फुटबलमा ९५० भन्दा बढी गोल गरिसकेका ४० वर्षीय रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने संकेत दिएका हुन्।

साउदी फोरमसँग भिडियो लिङ्कमार्फत कुरा गर्दै उनले भने, “यो निश्चित हो। सन् २०२६ मेरो अन्तिम विश्वकप हुनेछ।” उनले थपे, “म ४१ वर्षको हुनलागेँ र अन्तर्राष्ट्रिय खेलबाट विदा लिन यही उपयुक्त क्षण हो भन्ने लाग्छ।”

यससँगै रोनाल्डोको करियरको अन्त्यतर्फको यात्रा सुरु भएको छ। फुटबल इतिहासका सर्वाधिक गोलकर्ता मध्ये एक रोनाल्डोले पोर्चुगललाई यूरो २०१६ को उपाधि दिलाएका थिए र पाँच पटक बालोन डि’ओर जितेका छन्।

उनको यो घोषणा विश्वभरका प्रशंसकका लागि भावुक क्षण बनेको छ, किनकि रोनाल्डोले दुई दशकभन्दा बढी समयसम्म फुटबलमा आफ्नो अद्वितीय योगदान दिएका छन्।