अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक
- २५ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष जनवरीदेखि अक्टोबरसम्म दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटकले भ्रमण गरेका हुन्।
सबैभन्दा बढी अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएका थिए भने जनवरीमा सबैभन्दा कम ९ हजार ३५९ मात्र भित्रिएका थिए। सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटक आएका थिए, तर सन् २०२५ को दस महिनामै यो सङ्ख्या नाघिसकेको छ।
‘जेन्जी’ आन्दोलनका कारण सेप्टेम्बरमा पर्यटक केही घटे पनि अक्टोबरमा भने अघिल्लो वर्षभन्दा १,५५७ बढी पर्यटक आएका थिए। नोभेम्बरपछि आगमन घट्ने र मार्चदेखि पुनः बढ्ने प्रवृत्ति देखिएको छ।
अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वभर चर्चित छ। सेप्टेम्बर–नोभेम्बर र मार्च–मेमा पर्यटकको आगमन उच्च हुने गर्छ। भारतीय पर्यटकहरू मुक्तिनाथलगायत गन्तव्यमा सडक मार्ग प्रयोग गर्ने गर्छन् भने अन्य मुलुकका पर्यटकले पदयात्रा रोज्ने गरेका छन्।
सन् २०२३ मा एक लाख ९१ हजार ६६६ विदेशी पर्यटक आएका थिए। सन् २०२० मा मात्र १८ हजार ८३६ पर्यटक भित्रिएका थिए, त्यसयता आगमनमा निरन्तर वृद्धि भइरहेको छ। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानी, पुनहिललगायत गन्तव्यहरू पर्यटकको प्रमुख आकर्षण बनेका छन्।
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन र संस्कृति अन्नपूर्ण क्षेत्रको प्रमुख आकर्षण मानिन्छ। कास्की, लमजुङ, मनाङ, म्याग्दी हुँदै छोटो, मध्यम वा लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ।