पर्वतमा कागारबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
- २५ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- पर्वत जिल्लाको मोदी गाउँपालिका–६ दराकमा सोमबार राति एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन्।
५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया पत्नी सीतालाई कुटपिट गरेका थिए। गम्भीर चोटपटकका कारण बेहोस भएकी सीतालाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार सीताको टाउको र अनुहारमा चोट लागेको थियो। घटनापछि घरमै रहेकी बुहारी शोभा विकले प्रहरीलाई खबर गरिन्। त्यसपछि देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो। स्थानीयले नियन्त्रणमा राखेका जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।
जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए। उनलाई छुटाउन श्रीमती सीताले नै धरौटी तिरेकी थिइन्। घर फर्किएको दिन साँझ खाना खाइसकेपछि उनले पत्नीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।
उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।