२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर मम्दानीले गरे अनुभवी बजेट विज्ञलाई उपमेयर नियुक्त

न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर मम्दानीले गरे अनुभवी बजेट विज्ञलाई उपमेयर नियुक्त

न्यूयोर्क-न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरन मम्दानीले आफ्नो पहिलो उपमेयरमा अनुभवी बजेट विज्ञ डिन फुलेहानलाई नियुक्त गरेका छन्। चार दशकभन्दा बढी समय सरकारी बजेट र नीतिगत भूमिकामा काम गरेका फुलेहानले सिटी हलको प्रशासनिक नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन्।

फुलेहानले विगतमा मेयर बिल दे ब्लासियोको बजेट निर्देशक तथा उपमेयरको भूमिका निर्वाह गरेका थिए। साथै, उनले न्यूयोर्क राज्य विधानसभामा लामो समय बजेट र नीति सम्बन्धी जिम्मेवारी सम्हालेका थिए।

मम्दानीले आफ्नी प्रमुख चुनावी सल्लाहकार एल बिसगार्ड–चर्चलाई सिटी हलको प्रमुख सचिव नियुक्त गरेका छन्। पत्रकार सम्मेलनमा उनले नयाँ सिटी हल निर्माण गर्ने प्रतिबद्धता जनाउँदै अनुभवी नेतृत्व र नयाँ पुस्ताको संयोजन आवश्यक हुने बताए।

मम्दानीले निःशुल्क बाल हेरचाह, निःशुल्क बस सेवा तथा सहरकै grocery स्टोर सञ्चालन गर्ने जस्ता महत्वाकांक्षी कार्यक्रम अघि सारेका छन्। यी योजनाहरू कार्यान्वयन गर्न राज्य सरकार र विधानसभाको सहयोग आवश्यक पर्ने भएकाले फुलेहानको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।

गत हप्ता मेयर चुनाव जितेका मम्दानीले पूर्व सिटी तथा संघीय अधिकारीहरूलाई समेटेर संक्रमण टोली गठन गरेका छन्। उनले हालकी प्रहरी आयुक्त जेसिका टिशलाई यथावत राख्ने इच्छा व्यक्त गरे पनि टिशले यसबारे निर्णय खुलाएको छैन।