२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

चीनमा नयाँ पुल भत्कियो, कुनै मानवीय क्षति भएन

चीनमा नयाँ पुल भत्कियो, कुनै मानवीय क्षति भएन

न्युयोर्क- चीनको दक्षिण–पश्चिमी सिचुवान प्रान्तमा हालै निर्माण सम्पन्न गरिएको होंगची पुल मंगलबार आंशिक रूपमा भत्किएको छ। २,४८७ फिट लामो यो पुल तिब्बतसँग जोडिने राष्ट्रिय राजमार्गको हिस्सा हो।

अधिकारिहरूका अनुसार सोमबार नै आसपासका सडक र ढलानमा चिरा देखिएपछि पुल बन्द गरिएको थियो। मंगलबार आएको पहिरोले पुललाई चिरा पार्दै ठूलो टुक्रा भत्किएको हो। घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ।

सिचुवान भूकम्पीय रूपमा संवेदनशील क्षेत्र हो, जहाँ सन् २००८ मा ७.९ म्याग्निच्युडको भूकम्पले ६९ हजारभन्दा बढीको ज्यान लिएको थियो। अहिलेको दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

एनबीसी न्युजले सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएका भिडियोहरूलाई प्रमाणित गरेको छ, जसमा पुल भत्किएको दृश्य देखिन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पुल यसै वर्ष मात्र निर्माण सम्पन्न भएको थियो।

चीनले पछिल्ला वर्षहरूमा सडक, रेलमार्ग र पुलमा ठूलो लगानी गर्दै आएको छ। गत सेप्टेम्बरमा गुइझोउ प्रान्तमा विश्वकै सबैभन्दा अग्लो पुल उद्घाटन गरिएको थियो। तर यसअघि सन् २०२४ जुलाईमा शान्सी प्रान्तमा राजमार्ग पुल आंशिक रूपमा भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो।