भारतद्वारा कार विस्फोटलाई आतङ्कवादी आक्रमण ठहर
- २७ कार्तिक २०८२
- १ मिनेटको पढाई
श्रीनगर- भारत सरकारले राजधानी नयाँदिल्लीमा सोमबार लालकिल्ला नजिकै भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतङ्कवादी आक्रमण’ ठहर गरेको छ। विस्फोटमा आठ जनाको मृत्यु भएको र कैयौँ घाइते भएका थिए।
मन्त्रिपरिषद्ले बुधबार राति पारित गरेको प्रस्तावमा घटनालाई ‘जघन्य आतङ्ककारी कृत्य’ भनेर व्याख्या गरिएको छ। लालकिल्ला भारतीय गौरवको प्रतीक मानिने भएकाले यो योजनाबद्ध आक्रमणको रूपमा पुष्टि भए सन् २०११ पछि राजधानीमा भएको सबैभन्दा घातक विस्फोट ठहरिनेछ।
अनुसन्धानका क्रममा काश्मीरका विभिन्न भागमा छापामारी गरी पाँच जना सन्दिग्धलाई हिरासतमा लिइएको छ। यसअघि फरीदाबादमा एक आतङ्कवादी सेल ध्वस्त गरिएको थियो, जसबाट विस्फोटक पदार्थ र हतियार बरामद भएको थियो। स्थानीय मिडियाले विस्फोट भएको कारको चालक पनि काश्मीरी भएको उल्लेख गरेका छन्।
दिल्ली प्रहरीले घटनालाई आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा यान्त्रिक त्रुटि — सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। यसबीचमा पक्राउ परेका चिकित्सक र अन्य व्यक्तिहरूसँग सोधपुछ भइरहेको छ।
घटनाले भारत–पाकिस्तानबीच पुनः तनाव चुलिन सक्ने चिन्ता बढाएको छ। भारतले पाकिस्तानमाथि आतङ्कवादी गतिविधि समर्थन गरेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले अस्वीकार गर्दै आएको छ। विगतमा पनि नयाँदिल्लीले ठूला विस्फोटहरू भोगिसकेको छ, जसमा काश्मीरी उग्रवादी समूहहरूको संलग्नता देखाइएको थियो।
नयाँदिल्लीको हालको विस्फोटले राजधानीको सुरक्षामा प्रश्न उठाएको मात्र नभई काश्मीर विवाद र भारत–पाकिस्तान सम्बन्धमा पुनः अशान्ति निम्त्याउने सङ्केत देखिएको छ।