पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट बच्न दूतावासको आग्रह
- २७ कार्तिक २०८२
- १ मिनेटको पढाई
लिस्बन- पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट सावधान रहन आग्रह गरेको छ।
दूतावासले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा पोर्चुगल सरकारले यही कात्तिक ६ गतेदेखि उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरिसकेको स्पष्ट गर्दै, यस अवस्थामा कामदार भिसा दिलाइदिने बहानामा हुने गैरकानुनी गतिविधिबाट जोगिन चेतावनी दिएको हो।
हालै नेपाल तथा मध्यपूर्वमा पोर्चुगलमा काम लगाइदिने नाममा ठगी धन्धा भइरहेको जानकारी प्राप्त भएपछि दूतावासले यस्तो गतिविधिमा संलग्न नहुन र त्यसबाट बच्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ।
दूतावासले विद्यमान अवस्थामा कामदार भिसा प्रयोग गरेर कोही पनि पोर्चुगल आउन नपाउने भएकाले त्यसको नाममा हुने ठगीबाट सचेत रहनुपर्नेमा जोड दिएको छ।