२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

लामिछाने र जोशीको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

लामिछाने र जोशीको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं- लुम्बिनी उच्च अदालत, तुलसीपुर–बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका दुवैजनाको मुद्दा आजको पेसीमा छलफल हुँदा न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्चमा यसअघि भएको आदेशको सक्कल प्रमाण माग गरेको हो।

यसअघि जिल्ला अदालत रुपन्देहीले जारी गरेका आदेशसहितका फाइलहरू मागी प्राप्त भएपछि आज सुनुवाइ भएको थियो। लामिछाने र जोशी दुवैले बिगो बराबरको रकम जमानत पेस गरे पनि उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने स्पष्ट नभएकाले जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा अभियोगपत्रमार्फत रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरिएको छ। हाल लामिछाने ललितपुरको नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन्।