२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ट्रम्पसमक्ष बिबिसीको माफी, क्षतिपूर्ति अस्वीकार

ट्रम्पसमक्ष बिबिसीको माफी, क्षतिपूर्ति अस्वीकार

लन्डन- बिबिसीले सन् २०२१ जनवरी ६ को घटनासम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणलाई भ्रामक सम्पादन गरिएको स्वीकार गर्दै औपचारिक माफी मागेको छ। तर ट्रम्पले माग गरेको एक अर्ब डलर क्षतिपूर्ति दाबीलाई कानूनी आधार नभएको भन्दै अस्वीकार गरेको छ।

बिबिसी अध्यक्ष समीर शाहले ह्वाइट हाउसलाई पठाएको पत्रमा सम्पादन ‘अनैच्छिक गल्ती’ भएको उल्लेख गर्दै यसले ट्रम्प हिंसात्मक आह्वान गरेको झुटो धारणा दिन सक्ने स्वीकार गरेका छन्। विवादित वृत्तचित्र पुनःप्रसारण नगर्ने निर्णय पनि गरिएको छ।

यो विवाद प्यानोरामा कार्यक्रम अन्तर्गत ‘Trump: A Second Chance?’ शीर्षकको संस्करणबाट सुरु भएको हो, जहाँ तेस्रो पक्ष निर्माण कम्पनीले ट्रम्पको लामो भाषणका छुट्टाछुट्टै अंशलाई जोडेर प्रस्तुत गरेको थियो। काटिएको अंशमा ट्रम्पले ‘शान्तिपूर्ण प्रदर्शन’ को आग्रह गरेको भाग भने छुटाइएको थियो।

दबाबका कारण बिबिसी महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबहरा टर्नेसले राजीनामा दिएका छन्। कानूनी विज्ञहरूले ट्रम्पको मानहानि दाबी सफल हुन कठिन हुने बताएका छन्, किनकि वास्तविक हानि प्रमाणित गर्न गाह्रो छ र बेलायतमा मुद्दा दर्ता गर्ने समयसीमा पनि सकिएको छ।

यद्यपि, ट्रम्पले विगतमा अमेरिकी मिडियासँग क्षतिपूर्ति निकाल्न सफल भएका केही उदाहरणहरू छन्—जस्तै CBS ले ‘६० मिनेट’ अन्तर्वार्ता विवादमा ६० लाख डलर तिरेको र ABC News ले मानहानि मुद्दा समाधान गर्न १५ मिलियन डलर क्षतिपूर्ति दिएको।

बिबिसीमा ट्रम्पसम्बन्धी सम्पादन गल्ती पहिलोपटक भने होइन; सन् २०२२ मा Newsnight कार्यक्रममा पनि यस्तै गल्ती भएको थियो र त्यतिबेला पनि माफी मागिएको थियो।