भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते
- २९ कार्तिक २०८२
- १ मिनेटको पढाई
नयाँ दिल्ली -भारतको श्रीनगरस्थित नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब ३१ जना घाइते भएका छन्। विस्फोटपछि चौकी परिसरमा रहेका सवारीसाधनमा आगलागी भई ठूलो क्षति पुगेको छ।
स्थानीय मिडियाका अनुसार, दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा ल्याइएका विस्फोटक सामग्री परीक्षण गर्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ, तर प्रहरीको आधिकारिक बयान भने आएको छैन। मृतकमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ।
घटनापछि ठूलो संख्यामा दमकल र एम्बुलेन्स परिचालन गरी घाइतेहरूलाई अस्पताल पुर्याइएको छ। यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा १३ जनाको मृत्यु भएको थियो।