‘गरिबको खाना’ भनेर हेपिएको कोदो अब बजारको आकर्षण
- ३० कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं- म्याग्दीमा उत्पादन हुने परम्परागत बाली कोदो अब ढिडो वा खोलेमा मात्र सीमित नभई बिस्कुट र पाउरोटीका रूपमा बजारमा लोकप्रिय हुँदै गएको छ। माग बढेसँगै किसान र उद्यमी उत्साहित भएका छन्।
अन्नपूर्ण गाउँपालिकाको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताको मागअनुसार कोदोको बिस्कुट उत्पादन सुरु गरेका छन्। यसअघि धवलागिरि बेकरी र टोड्के हिल रिसोर्टले पनि कोदोको बिस्कुट उत्पादन गर्दै आएका थिए। ग्रामीण क्षेत्रमा भन्दा सहर बजार र विदेशमा रहेका नेपालीबीच यसको माग बढी देखिएको छ।
भुटेको कोदोको पीठोमा चिनी, मह र उखुको खुदो मिसाएर बनाइने बिस्कुट प्रतिदर्जन रु ६० मा बिक्री भइरहेको छ। पर्यटकलाई लक्षित गर्दै स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र पाउरोटी उत्पादनको तयारी पनि भइरहेको छ।
कृषि ज्ञान केन्द्रले ओभन खरिदका लागि रु २ लाख अनुदान सहयोग गरेको छ भने चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन गरिएको छ। म्याग्दीमा करिब २,७५० हेक्टर क्षेत्रमा वार्षिक ३,३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ।
क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त पाइने कोदो बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि पोषिलो मानिन्छ। मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकीजस्ता रोगमा लाभदायी हुने भएकाले यसको माग बढ्दै गएको छ।
उद्यमीहरूले कोदोको विविधिकरण र बजारीकरणले किसानलाई फाइदा पुग्ने, आयात घटाउने र परम्परागत बाली संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।