कोलम्बियामा हवाई आक्रमण : सात नाबालिगको मृत्यु
- ३० कार्तिक २०८२
- १ मिनेटको पढाई
बोगोटा- ग्वाभियरे प्रान्तमा विद्रोही समूह विरुद्ध गरिएको विवादास्पद हवाई आक्रमणमा सात नाबालिगसहित कम्तीमा १९ जना मारिएका छन्। मानव अधिकार लोकपाल आइरिस मारिनले विद्रोहीहरूले नाबालिगलाई जबरजस्ती भर्ती गरी ‘मानव ढाल’ का रूपमा प्रयोग गरेको आरोप लगाउँदै सरकारलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गरे।
रक्षामन्त्री पेड्रो सान्चेजले अपराधी समूहले नाबालिगको जीवनलाई जोखिममा पारेको टिप्पणी गरेका छन्। कोलम्बियामा हवाई आक्रमणमा बालबालिकाको मृत्यु संवेदनशील विषय मानिन्छ, विशेषतः सन् २०१९ मा आठ बालबालिकाको मृत्यु लुकाइएको घटनापछि तत्कालीन मन्त्रीले राजीनामा दिनुपरेको प्रसङ्ग अझै ताजा छ।
राष्ट्रपति गुस्ताभो पेट्रोले सेनामाथि विद्रोही आक्रमणको खतरा देखिएपछि सैनिकहरूको जीवन बचाउन हवाई आक्रमणको आदेश दिन बाध्य भएको बताए। उनले नाबालिगको मृत्यु दुःखद भएको स्वीकार गर्दै विगतमा यस्ता आक्रमणलाई ‘युद्ध अपराध’ भने पनि हाल विद्रोही विस्तार रोक्न आवश्यक भएकाले पुनः कारबाही सुरु गरिएको स्पष्ट पारे।
पेट्रोले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यारेबियन क्षेत्रमा चलाएको लागुऔषधविरुद्धको आक्रमणलाई ‘गैरन्यायिक मृत्युदण्ड’ भन्दै आलोचना गरे पनि आफ्नो सरकारको कारबाही विद्रोही सशस्त्र सदस्यहरूलाई लक्षित भएको बताए।