स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल
- ३० कार्तिक २०८२
- १ मिनेटको पढाई
स्पेन- स्पेनको बास्क देशमा शनिबार एथलेटिक बिलबाओको घरेलु मैदान सान मेम्स स्टेडियममा प्यालेस्टिनी फुटबल टोलीले बास्क खेलाडीहरूसँग राजनीतिक सन्दर्भले भरिएको मैत्रीपूर्ण खेल खेलेको छ। करिब ५० हजार दर्शकका लागि टिकट छुट्याइएको खेलमा ठूलो भीड उपस्थित भएको थियो।
दर्शकहरूले प्यालेस्टिनी झण्डासँगै बास्क देशको झण्डा फहराउँदै ऐक्यबद्धता व्यक्त गरे। यसअघि हजारौँ मानिसले पदयात्रा गर्दै समर्थन प्रदर्शन गरेका थिए। गाजामा इजरायलको सैन्य कारबाहीविरुद्ध स्पेनभरि भइरहेका विरोध प्रदर्शनको प्रभाव खेलमा पनि देखिएको हो।
बास्क टोलीमा एथलेटिक बिलबाओ र रियल सोसिडाडका खेलाडीहरू सहभागी थिए। स्पेनका राष्ट्रिय खेलाडीहरू विश्वकप छनोट खेलमा व्यस्त भएकाले उपलब्ध थिएनन्।
प्यालेस्टिनी टोलीले यही यात्राका क्रममा आगामी मङ्गलबार बार्सिलोनामा क्याटालोनिया क्षेत्रका खेलाडीहरूसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ।