२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

ट्रम्पद्वारा मदुरोसँग सम्भावित वार्ताको संकेत

ट्रम्पद्वारा मदुरोसँग सम्भावित वार्ताको संकेत

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग निकट भविष्यमा वार्ता हुन सक्ने संकेत दिएका छन्। क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य गतिविधि तीव्र बनेको बेला आएको यो अभिव्यक्तिले क्षेत्रीय तनावलाई थप चासोको विषय बनाएको छ।

ट्रम्पले “भेनेजुएला संवादको इच्छुक छ, म सबैसँग कुरा गर्न तयार छु” भन्दै प्रतिनिधिहरूले केही विषयमा छलफल गरिरहेको खुलासा गरेका छन्।

यसअघि अमेरिकी विदेश मन्त्रालयले मदुरो नेतृत्वको ‘कार्टेल डे लस सोल्स’ लाई विदेशी आतङ्कवादी संगठनको सूचीमा राख्ने घोषणा गरेको थियो। वासिङ्टनले यसलाई लागुऔषध तस्करी नियन्त्रणका लागि आवश्यक भने पनि काराकासले सत्ता फाल्ने अमेरिकी प्रयासको हिस्सा भएको आरोप लगाएको छ।

अमेरिकी नौसेनाले युएसएस जेराल्ड आर. फोर्ड विमानवाहक जहाजसहित मिसाइल विध्वंसक जहाजहरू क्यारिबियनमा तैनाथ गरेको छ। ‘अपरेसन साउदर्न स्पियर’ नामक अभियानअन्तर्गत सेप्टेम्बरदेखि समुद्री क्षेत्रमा कम्तीमा ८३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ, तर ती सबै तस्कर नै थिए भन्ने पुष्टि अमेरिकाले गरेको छैन।