चार्लोटमा आप्रवासी पक्राउ अभियान : त्रास र व्यवसाय बन्द
- ०२ मंसिर २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको नर्थ क्यारोलिनाको चार्लोट शहरमा आप्रवासी पक्राउ अभियान सुरु भएपछि स्थानीय बासिन्दा र व्यवसायीहरू त्रासमा परेका छन्। “अप्रेशन चार्लोट्स वेब” नाम दिइएको अभियान अन्तर्गत शनिबारदेखि १३० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्।
कोलम्बियाली मूलका अमेरिकी नागरिक जोनाथन ओक्याम्पोले आफू घरबाहिर निस्कँदा पासपोर्ट साथमा राख्नुपर्ने अवस्था आएको बताए। उनले आफ्ना बुबा पनि हिस्पानिक देखिने भएकाले लक्षित हुन सक्ने चिन्ता व्यक्त गरे।
हप्ताको सुरुवातमै लोकप्रिय लातिनो बेकरी बन्द भयो भने अन्य साना व्यवसायहरूले पनि ढोका बन्द गरे। एक अमेरिकी नागरिक विल्ली असेइतुनोको कारको झ्याल तोडेर प्रहरीले उनलाई जमिनमा फ्यालेको भिडियो सार्वजनिक भएपछि समुदायमा आक्रोश बढेको छ।
गृहसुरक्षा विभाग (DHS) ले पक्राउ परेकाहरूले आप्रवासन कानुन उल्लङ्घन गरेको दाबी गरेको छ। तर स्थानीय आप्रवासी अधिकार समूहहरूले यो अभियानलाई “जातीय प्रोफाइलिङ र समुदायलाई डराउने प्रयास” भनेका छन्।
पक्राउ परेकामध्ये केही चर्च, पसल र अपार्टमेन्ट वरिपरि काम गर्ने सामान्य मजदुर रहेको बताइएको छ। एक चर्चको सफाइ कार्यक्रममा सहभागी एक व्यक्तिलाई पक्राउ गर्दा उनलाई ‘प्यानिक अट्याक’ भएर अस्पताल भर्ना गर्नुपरेको थियो।
यस अभियानले धार्मिक गतिविधि र सामुदायिक कार्यक्रमहरूमा पनि असर पारेको छ। Casa Viva Church मा स्पानिश भाषाको सेवामा सयौँ मानिस डरका कारण उपस्थित भएनन्।
पक्राउ परेकाहरूलाई जर्जियाको Stewart Detention Center मा पठाइएको छ, जहाँ भीडभाडका कारण कतिपयलाई लुइसियाना सारिने सम्भावना छ। वकिल भेट्न कठिनाइ हुने भएकाले कानुनी सहयोग पाउन ढिलो हुने चिन्ता व्यक्त गरिएको छ।
चार्लोटका व्यवसायी मानोलो बेटानकुरले आफ्नो बेकरी बन्द गर्दै भने, “ग्राहकहरूको सुरक्षाभन्दा ठूलो पैसा होइन।”