ट्रम्पद्वारा मदुरोसँग संवादको तयारी, मेक्सिकोभित्र अमेरिकी कारबाही ‘ठीक’ हुने अभिव्यक्ति
- ०२ मंसिर २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग प्रत्यक्ष संवाद गर्न तयार रहेको बताएका छन्। क्यारेबियन क्षेत्रमा अमेरिकी सैन्य गतिविधि बढिरहेका बेला उनले “उचित समयमा कुरा गर्नेछु” भन्दै संकेत दिएका हुन्।
साथै, मेक्सिकोभित्र लागुऔषधविरुद्ध अमेरिकी आक्रमण हुन सक्ने प्रश्नमा उनले “मलाई कुनै आपत्ति छैन” भन्दै आवश्यक परे गर्वका साथ कारबाही गर्ने टिप्पणी गरे।
अमेरिकाले हाल क्यारेबियन क्षेत्रमा युद्धपोत, विमानवाहक र मरीन सैनिक परिचालन गर्दै लागुऔषध तस्करीविरुद्ध अभियान चलाइरहेको छ। एएफपीका अनुसार सेप्टेम्बरयता हवाई आक्रमणमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ, तर उनीहरू तस्कर नै थिए भन्ने पुष्टि अमेरिकी पक्षले सार्वजनिक गरेको छैन।
यसैबीच, राष्ट्रपति मदुरोले पनि आफ्नो टेलिभिजन कार्यक्रममा “संयुक्त राज्य अमेरिकासँग संवाद गर्न इच्छुक जोसुकैसँग पनि तयार” रहेको बताएका छन्। तर भेनेजुएलाले अमेरिकामाथि शासन परिवर्तनको उद्देश्यसहित सैन्य दबाब बढाएको आरोप लगाउँदै आएको छ।
ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पर्सद–बिसेसरले आफ्नो देशले अमेरिकी आक्रमणका लागि भूभाग उपलब्ध नगराउने स्पष्ट पार्दै वासिङ्टन र काराकासलाई वार्तामार्फत मतभेद समाधान गर्न आग्रह गरेकी छन्।