२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

क्यानडामा नेपाली समुदायद्वारा बालाचतुर्दशी पर्व मनाइयो

क्यानडामा नेपाली समुदायद्वारा बालाचतुर्दशी पर्व मनाइयो

न्युयोर्क- क्यानडामा रहेका नेपाली समुदायले पितृको स्मरणमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाएका छन्। अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपालीहरू सहभागी भई परम्परागत विधि अनुसार शतबीज छरेका थिए।

कार्यक्रम नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले आयोजना गरेको हो। अध्यक्ष लीला भण्डारीले नेपाली संस्कृतिको संरक्षण र दिवङ्गत पितृको सम्झनाका लागि यस्तो कार्यक्रम गरिएको बताए। सेन्टरले ब्रामटनमा सन् २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्याएको छ भने ठूलो पशुपति मन्दिर र बौद्ध स्तूप निर्माणका लागि १० एकड जमिन खरिद गरेको छ।

बालाचतुर्दशी मेला पनि सोही जमिनमा आयोजना गरिएको हो। मन्दिरका पुजारीले शिवस्तोत्र, गणेशस्तुति वाचन र दीप प्रज्वलन गर्दै मेलाको सुरुआत गरेका थिए।

एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किने बताए। उनले नेपालीबीच भाइचाराको भावना बढाउँदै संस्कृति संरक्षणमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए।