अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा सात बुँदे अनुरोध
- ०४ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं- अनलाइनमार्फत ठगी हुने घटना बढ्दै गएपछि नेपाल प्रहरीले नागरिकलाई सचेत रहन सात बुँदे अनुरोध सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सामाजिक सञ्जालमार्फत ‘चिठ्ठा परेको छ’ भन्दै रकम माग्ने, सामान सस्तो दरमा देखाएर अग्रिम भुक्तानी गर्न लगाउने, वा भिडियो कल रेकर्ड गरेर अश्लिल सामग्री बनाएर ब्ल्याकमेल गर्ने जस्ता घटनाहरू बढेका छन्।
प्रहरीले जारी गरेको सात बुँदे अनुरोधमा :
-सामान खरिद गर्दा आधिकारिक बिक्रेता यकीन गरी मात्र भुक्तानी गर्ने
-अपरिचित नम्बर वा व्यक्तिबाट आएको भिडियो कलमा सावधान रहने
-साथी वा आफन्तले सामाजिक सञ्जालमार्फत सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरेर मात्र सहयोग गर्ने
-सस्तो दरमा देखाइ अग्रिम रकम पठाउन नहुने
-अपरिचित वा नयाँ लिंक नखोल्ने
-‘ओटिपी कोड’, मोबाइल स्क्रिन वा पासवर्ड कसैलाई नदिने
-सामाजिक सञ्जालमा निजी वा संवेदनशील जानकारी नराख्ने
प्रहरीले नागरिकलाई प्रलोभनमा नपरी सचेत रहन आग्रह गर्दै अनलाइन ठगीबाट बच्न सावधानी अपनाउन जोड दिएको छ।