ट्रम्प–ममदानी भेट शुक्रबार ओभल अफिसमा
- ०४ मंसिर २०८२
- १ मिनेटको पढाई
वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कका मेयर–निर्वाचित जोहरान ममदानीसँग आगामी शुक्रबार ओभल अफिसमा भेट हुने घोषणा गरेका छन्।
ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत बैठकको पुष्टि गर्दै ममदानीलाई पुनः ‘कम्युनिस्ट’ भन्ने आरोप दोहोर्याएका थिए। ममदानीका प्रवक्ता डोरा पेकेकले पनि बैठक सुनिश्चित भएको जानकारी दिँदै सार्वजनिक सुरक्षा, आर्थिक चुनौती र किफायती जीवनशैलीबारे छलफल हुने बताए।
ट्रम्प र ममदानी दुवै न्युयोर्कको क्वीन्समा हुर्किएका भए पनि राजनीतिक दृष्टिकोण फरक छ। ट्रम्पले वाल स्ट्रिटका उपलब्धि देखाउँदै आफ्नो कार्यकालको सफलता प्रस्तुत गर्दै आएका छन् भने ममदानीले किफायती आवास, बाल हेरचाह, निःशुल्क बस यात्रा र नगर–सञ्चालित किराना पसलजस्ता सामाजिक सुविधा प्राथमिकता दिएका छन्।
सन् १९६९ पछि १० लाखभन्दा बढी मत प्राप्त गर्ने पहिलो मेयर उम्मेदवार बनेका ममदानीको आदर्शवादी एजेन्डा कार्यान्वयनमा चुनौतीपूर्ण हुने विश्लेषकहरूले बताएका छन्।
ट्रम्पले आप्रवासी–विरोधी अभिव्यक्तिका बीच ममदानीको नाम उपहास गर्दै संघीय कोष कटौतीको धम्की दिएका थिए। यता, ममदानीले विजय र्यालीमा ट्रम्पलाई प्रत्यक्ष सम्बोधन गर्दै “आवाज बढाउनुहोस्” भन्ने ठाडो जवाफ दिएका थिए।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले ममदानीको उक्त भाषण वास्तवमै हेरेको पुष्टि गरेकी छन्।