थाइल्यान्डमा नाटकपछि मिस मेक्सिको फातिमा बोश मिस युनिभर्स विजेता
- ०५ मंसिर २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मेक्सिकोकी फातिमा बोश विजयी भएकी छिन्। अन्तिम चरणअघि नै आयोजकसँगको विवाद, निर्णायकहरूको राजीनामा, मञ्चमा भएका दुर्घटना र आरोप–प्रत्यारोपले वातावरण तनावपूर्ण बनेको थियो।
प्रतियोगिताका निर्देशक नवाट इतसाराग्रिसिलले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै बोशमाथि आलोचना गरेपछि विवाद चर्किएको थियो। बोशले सार्वजनिक रूपमा अपमान सहनु परेको भन्दै आफ्नो आवाज उठाइन्, जसलाई अन्य प्रतिस्पर्धीहरूले पनि समर्थन जनाए।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले बोशलाई आत्मविश्वासपूर्वक बोल्ने महिलाको उदाहरण भन्दै प्रशंसा गरिन्। प्रतियोगिताको अन्तिम चरणमा दुई निर्णायकले राजीनामा दिए भने केही सहभागी मञ्चमै लडे।
मेक्सिकोमा बोशको विजय उत्सवका रूपमा मनाइयो। सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आयो र उनको गृहनगरमा हजारौँ मानिसले प्रत्यक्ष प्रसारण हेरे। आतशबाजीसहित ‘मेक्सिको, मेक्सिको!’ भन्दै भीड उत्साहित भएको स्थानीय मिडियाले जनाएको छ।