धुर्मुस–सुन्तली फाउन्डेसनले छाडेको रङ्गशालाको भुक्तानीमा भरतपुर महानगरलाई कानुनी अड्चन
- ०५ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं – चितवनको भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेर अधुरो छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी समस्या परेको छ। संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे पनि रकम ‘सिर्जित सम्पत्ति खरिद’ शीर्षकमा छुट्याइएको हुँदा सार्वजनिक खरिद ऐनअनुसार मात्र खर्च गर्न सकिने प्रावधानले भुक्तानी रोकिएको हो।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले फाउन्डेसन भ्याटमा दर्ता नभएकाले रकम भुक्तानी गर्दा कानुनी जटिलता बढेको बताए। यसअघि महानगरले आफ्नै स्रोतबाट अनुदान दिन सके पनि संघीय बजेटमा कानुनी प्रक्रिया पालना गर्नुपर्ने बाध्यता रहेको स्पष्ट गरिएको छ।
महानगर प्रमुख रेनु दाहालले अर्थ मन्त्रालय र खेलकुद मन्त्रालयसँग परामर्श गर्दा सोझै भुक्तानी गर्न नसकिने जवाफ पाएको बताइन्। उपप्रमुख चित्रसेन अधिकारीले महानगर भुक्तानीको पक्षमा रहे पनि कानुनी अड्चनका कारण तत्काल सम्भव नभएको बताए।
फाउन्डेसनले अधुरो काम हस्तान्तरण गरेपछि महानगरले बागमती प्रदेशसँग मिलेर निर्माण अगाडि बढाइरहेको छ। हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ। फाउन्डेसनले रु ५७ करोडभन्दा बढी खर्च भएको दाबी गर्दै रु १८ करोडभन्दा बढी उधारो रहेको जनाएको छ।
महानगरले विज्ञप्ति जारी गर्दै निजी संस्थाको दायित्व सरकारी रकम प्रयोग गरेर भुक्तानी गर्नु संवेदनशील र कानुनी रूपमा जटिल विषय भएको उल्लेख गर्दै समस्या समाधानका लागि कानुनी बाटो खोजिरहेको स्पष्ट पारेको छ।