२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

पूर्वी कङ्गोमा इस्लामिक विद्रोहीको आक्रमण, ८९ सर्वसाधारणको मृत्यु

पूर्वी कङ्गोमा इस्लामिक विद्रोहीको आक्रमण, ८९ सर्वसाधारणको मृत्यु

किन्सासा- पूर्वी कङ्गोको उत्तरी किभु क्षेत्रमा इस्लामिक विद्रोही समूह एलाइड डेमोक्रेटिक फोर्सेज (एडिएफ) ले एक हप्तासम्म लगातार आक्रमण गर्दा कम्तीमा ८९ सर्वसाधारणको ज्यान गएको छ। मृतकमध्ये महिलाहरू प्रसूति वार्डमा उपचाररत अवस्थामा मारिएका थिए। संयुक्त राष्ट्रसङ्घीय नियोग मोनुस्को का अनुसार नोभेम्बर १३ देखि १९ सम्म लुबेरो क्षेत्रमा भएको आक्रमण विशेष घातक थियो।

बापेरे र बास्वाघामा भएको आक्रमणमा २० महिला र बच्चासहित ८९ जनाको मृत्यु भएको छ भने ब्याम्ब्वे इलाकामा क्याथोलिक चर्चले सञ्चालन गरेको स्वास्थ्य केन्द्रमा १७ जनाको हत्या गरिएको थियो। आक्रमणका क्रममा बिरामी बस्ने वार्डमा आगजनी गरिनुका साथै औषधि आपूर्ति लुटपाट, घर जलाउने र सम्पत्ति नष्ट गर्ने घटनाहरू पनि भएका छन्।

सन् २०२१ देखि युगाण्डाको सेना कङ्गो सेनासँगै उत्तरी किभु र इतुरीमा तैनाथ भए पनि हिंसा रोकिएको छैन। विद्रोहीहरू घना जङ्गलमा साना समूह बनाएर शरण लिने भएकाले सेनाको प्रतिक्रिया कमजोर देखिएको छ।

स्थानीय नागरिक समाजले प्रत्येक आक्रमणपछि सेनाको ढिलो प्रतिक्रियाको आलोचना गर्दै आएको छ। यसले कङ्गोको पूर्वी क्षेत्र अझै असुरक्षित बनेको छ र सर्वसाधारण निरन्तर भय र असुरक्षाको वातावरणमा बाँच्न बाध्य भएका छन्।