राष्ट्रपति ट्रम्पद्वारा युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा
- ०७ मंसिर २०८२
- १ मिनेटको पढाई
वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले नोभेम्बर २७ भित्र प्रतिक्रिया दिनुपर्ने समयसीमा तोकेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश कठिन मोडमा पुगेको चेतावनी दिएपछि ट्रम्पले यस्तो समयसीमा सार्वजनिक गरेका हुन्। उनले वार्तामा प्रगति भएमा समयसीमा लचिलो बनाउन सकिने बताए तर पाँच दिनभित्र निर्णय लिन दबाब पनि दिएका छन्।
जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जे.डी. भान्ससँगको फोनवार्तापछि युरोप र अमेरिकासँग सहकार्य गरेर शान्तिको बाटो व्यवहारिक बनाउन सहमति भएको बताएका थिए। उनले राष्ट्रलक्ष्यी सम्बोधनमा “२८ बुँदे कठिन प्रस्ताव स्वीकार गर्ने वा कठोर हिउँद सामना गर्ने” विकल्पको दहलीजमा युक्रेन पुगेको बताएका थिए।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले शान्तिको व्यवहारिक मार्ग फेला परेको दाबी गरे तर अन्तिम निर्णय जेलेन्स्कीले नै गर्नुपर्ने बताए।
यस प्रस्तावलाई वाशिङ्टनको नवीनतम कूटनीतिक प्रयास मानिएको छ, जसले करिब तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्य लिएको छ। युक्रेनले यसअघि रूसको पूर्ण कब्जामा नभएका क्षेत्रमा छूट दिने खालका प्रस्ताव अस्वीकार गर्दै आएको थियो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको नयाँ प्रस्ताव आफूले ट्रम्पसँग अलास्कामा गरेको भेटमा छलफल भएको अद्यावधिक संस्करण जस्तो लागेको बताए। उनले रुसले प्रस्तावको पाठ प्राप्त गरिसकेको तर विस्तृत अध्ययन बाँकी रहेको उल्लेख गर्दै “यो अन्तिम शान्ति समझदारीको आधार बन्न सक्छ” भन्ने विश्वास व्यक्त गरे।