२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

इथियोपियाको ज्वालामुखी विस्फोटको असर भारतमा : सयौँ उडान प्रभावित

इथियोपियाको ज्वालामुखी विस्फोटको असर भारतमा : सयौँ उडान प्रभावित

न्युयोर्क- इथियोपियाको अफार क्षेत्रमा आइतबार बिहान विस्फोट भएको हायली गुब्बी ज्वालामुखीको असर भारतमा देखिएको छ। १२ हजार वर्षपछि पहिलोपटक सक्रिय बनेको उक्त ज्वालामुखीबाट निस्केको धुवाँको बादल सोमबार राति दिल्ली आइपुगेको थियो र त्यसपछि अन्य भागतिर फैलिँदै गएको छ।

एयर इन्डियाले सोमबार मात्र सात अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ, जसमा न्यूयोर्क–दिल्ली, दुबई–हैदराबाद र दोहा–मुम्बई उडानहरू समावेश छन्। मंगलबार पनि कम्तीमा चार उडान रद्द भएका छन्। अकासा एयरले जेद्दा, कुवेत र अबुधाबीतर्फका उडान रद्द गरेको छ। अन्य एयरलाइन्सहरूले पनि उडान स्थगित गरेका छन्।

भारतीय मौसम विभागका अनुसार धुवाँको बादल गुजरात, दिल्ली, राजस्थान, पंजाब र हरियाणा हुँदै चीनतिर बढिरहेको छ र मंगलबार साँझसम्म भारतबाट बाहिरिनेछ।

बीबीसीका अनुसार धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको छ, जसको गति १००–१२० किलोमिटर प्रतिघन्टा छ। बादल १५ हजारदेखि ४५ हजार फिटबीच फैलिएको छ, जसमा खरानी, सल्फर डाइ–अक्साइड तथा साना ढुंगाका कण मिसिएका छन्। यसले आकाशलाई सामान्यभन्दा गाढा र धुम्म देखिने बनाएको छ।

यसरी, इथियोपियाको दुर्लभ ज्वालामुखी विस्फोटले हजारौँ किलोमिटर टाढा भारतसम्म हवाई यातायात र वातावरणमा प्रत्यक्ष असर पारेको छ।