थाइल्यान्डमा कफिनमै जीवित भेटिइन् एक महिला
- ०९ मंसिर २०८२
- १ मिनेटको पढाई
बैङ्कक- थाइल्यान्डको नोन्थाबुरी प्रान्तस्थित ‘वाट रात प्राखोङ थाम’ बौद्ध मन्दिरमा दाहसंस्कारका लागि ल्याइएकी ६५ वर्षीया महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि कर्मचारीहरू स्तब्ध बनेका छन्।
मन्दिरले सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र सुतिरहेकी महिलाले हात र टाउको हल्लाएको देखिन्छ। मन्दिरका महाप्रबन्धक पैराट सुदथुपका अनुसार फित्सानुलोक प्रान्तबाट दाहसंस्कारका लागि ल्याइएकी ती महिलाले कफिनभित्रबाट ढकढक्याएको आवाज निकाल्दा घटना अनपेक्षित रूपमा बदलिएको हो।
दुई वर्षदेखि ओछ्यानमै परिरहेकी ती महिलालाई भाइले मृत ठानी करिब ५०० किलोमिटर यात्रा गरेर अस्पताल ल्याएका थिए। तर मृत्यु प्रमाणपत्र नभएकाले अस्पतालले अंगदान अस्वीकार गरेको थियो।
मन्दिरले पनि आवश्यक कागजात अभावमा दाहसंस्कार सेवा दिन नसकेको अवस्थामा अचानक कफिनभित्रबाट आवाज आएको थियो। त्यसपछि उनलाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।
मठाधीशले महिलाको उपचार खर्चसमेत बेहोर्ने प्रतिबद्धता जनाएका छन्।