२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

श्रीलङ्कामा भीषण बाढी-पहिरो : ५६ जनाको मृत्यु, सयौँ घर क्षतिग्रस्त

श्रीलङ्कामा भीषण बाढी-पहिरो : ५६ जनाको मृत्यु, सयौँ घर क्षतिग्रस्त

कोलम्बो- श्रीलङ्कामा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोमा कम्तीमा ५६ जनाको मृत्यु भएको छ। देशका विभिन्न भागमा ६०० भन्दा बढी घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

गत हप्तादेखि बिग्रिँदो मौसमका कारण श्रीलङ्का संकटमा परेको छ। बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडकहरू जलमग्न भएका छन् भने पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ। राजधानी कोलम्बोबाट करिब ३०० किलोमिटर पूर्वमा पर्ने बदुल्ला र नुवारा एलिया क्षेत्रमा विशेष असर परेको छ। त्यहाँ गएको पहिरोमा २५ जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

सरकारको विपद् व्यवस्थापन केन्द्रका अनुसार बदुल्ला र नुवारा एलियामा २१ जना बेपत्ता र १४ जना घाइते भएका छन्। अन्य स्थानमा पनि पहिरोका कारण थप मानिसको मृत्यु भएको छ।

लगातारको वर्षाले जलाशय तथा नदीहरू भरिँदै गएका छन्। सडक तथा रेलमार्गमा ढुङ्गा, माटो र रुख खसेपछि यातायात सेवा अवरुद्ध भएको छ। केही स्थानमा रेल सेवा समेत रोकिएको छ।

स्थानीय टेलिभिजनले बाढीले घेरिएको घरको छतमा फसेका तीन जनालाई श्रीलङ्का वायु सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको दृश्य प्रसारण गरेको छ। नौसेना तथा प्रहरीले पनि डुङ्गाको सहायताले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेका छन्। पूर्वी सहर अम्पारा नजिकै बाढीले कार बगाउँदा तीन यात्रुको मृत्यु भएको दृश्यसमेत सार्वजनिक भएको छ।

अधिकारीहरूले बढ्दो वर्षा र बिग्रँदो मौसमका कारण जोखिम अझै उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।