नेपाल–बङ्गलादेश ऊर्जा सहकार्य विस्तार : थप २० मेगावाट बिजुली निर्यात हुने
- १२ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्य विस्तार हुँदै गएको छ। हाल नेपालबाट बङ्गलादेशलाई निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थप २० मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको छ।
बिहीबार ढाकामा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकमा नेपालका ऊर्जा सचिव चिरञ्जीवी चटौत र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताजले सहअध्यक्षता गर्नुभएको थियो। बैठकमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता प्रवर्द्धन, विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन, रूफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहयोग गर्ने सहमति भएको छ।
बैठकले सुनकोशी तेस्रो जलविद्युत् आयोजनामा संयुक्त लगानी प्रक्रियालाई अघि बढाउने निर्णय पनि गरेको छ। बङ्गलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गर्ने र संयुक्त उपक्रम निर्माणसम्बन्धी समझदारीलाई शीघ्र निष्कर्षमा पुर्याउने उल्लेख गरिएको छ।
यसअघि विसं २०८१ असोजमा नेपालबाट ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो। भारतीय ग्रिडमार्फत बङ्गलादेशलाई बिजुली पठाइँदै आएको छ। नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् निगमबीच त्रिपक्षीय सम्झौता भएको थियो।
बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट ९,००० मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ। नेपाल र भारतबीच पनि १० वर्षमा १०,००० मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन सम्झौता भइसकेको छ।