२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

ट्रम्पले भेनेजुएलाका लागूपदार्थ तस्करविरुद्ध स्थलमार्गबाट कारबाही गर्ने संकेत

ट्रम्पले भेनेजुएलाका लागूपदार्थ तस्करविरुद्ध स्थलमार्गबाट कारबाही गर्ने संकेत

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका भनिएका लागूपदार्थ तस्करविरुद्ध स्थलमार्गबाट पनि कारबाही सुरु हुने बताएका छन्। हालसम्म अमेरिकी सेनाले करिबियन सागरमा केन्द्रित कारबाही गर्दै आएकोमा अब स्थलमार्गमा पनि कदम चालिने संकेत राष्ट्रपति ट्रम्पले दिएका हुन्।

थ्याङ्क्सगिभिङको अवसरमा विश्वभर तैनात अमेरिकी सैनिकलाई सम्बोधन गर्दै ट्रम्पले एयरफोर्सको सातौँ बम विङलाई धन्यवाद ज्ञापन गरे। उनले समुद्रमार्गबाट करिब ८५ प्रतिशत तस्करी रोकिएको दाबी गर्दै स्थलमार्गबाट कारबाही “छिट्टै सुरु हुने” बताए।

गत केही महिनादेखि अमेरिकाले करिबियन क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै आएको छ। सेप्टेम्बरदेखि सुरु भएको कारबाहीमा लागूपदार्थ बोक्ने भनिएका करिब दुई दर्जन नौकामा आक्रमण गरिएको छ, जसमा कम्तीमा ८२ जनाको मृत्यु भएको बताइएको छ। हालै USS Gerald R. Ford नामक प्रमुख विमानवाहक जहाज करिबियन पुगेपछि दशकमै सबैभन्दा ठूलो सैन्य जमघट भएको छ।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसम्बद्ध भनिएको ‘कार्टेल दे लोस् सोलेस’ समूहलाई विदेशी आतङ्कवादी संगठनको सूचीमा राखेको छ। मदुरोले भने लागूपदार्थ व्यापारसँग कुनै सम्बन्ध नभएको र अमेरिकाले “झुटा युद्ध” सिर्जना गरेको आरोप लगाएका छन्।

यद्यपि सैन्य दबाब बढाउँदै गए पनि ट्रम्पले मदुरोसँग वार्ता गर्ने सम्भावना खुला राखेका छन्। उनले हालै एयरफोर्स वनमा पत्रकारलाई “म उनलाई भेट्न सक्छु, हेर्दै जाँदैछौँ” भनेका थिए।

व्हाइट हाउसकी प्रेस सचिव करोलिन लिभिटले पत्रकारलाई “यी कारबाहीहरू निरन्तर जारी रहने” बताएकी छन्। NBC News का अनुसार करिबियनमार्ग हुँदै लैजाने लागूपदार्थ मुख्यत: युरोपतर्फ जाने गरेको छ, अमेरिकातर्फ होइन।