२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

श्रीलङ्कामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता

श्रीलङ्कामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता

ढाका- श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको मृत्यु भएको छ भने १३० जना अझै बेपत्ता छन्।

महानिर्देशक सम्पत कोटुवेगोदाले जानकारी दिएअनुसार राहत कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। घर क्षतिग्रस्त भएकाले ४३ हजार ९९५ जनालाई राज्य सञ्चालित राहत केन्द्रमा सारिएको छ।

भारी वर्षा सोमबारदेखि सुरु भएको थियो। बुधबार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि बाढीको अवस्था झन् गम्भीर बनेको हो। शुक्रबार साँझ केलानी नदीको तटबन्ध भाँचिँदा धेरै मानिसहरूलाई अस्थायी शिविरमा सार्नुपरेको थियो।

देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ। भारतले पीडितहरूको लागि आवश्यक राहत सामग्री पठाइसकेको छ र आवश्यक परे थप सहयोगका लागि तयार रहेको जनाएको छ।

सरकारले उद्धार तथा राहत कार्यलाई सुदृढ बनाउन सैनिक बल परिचालन गरेको छ। हेलिकोप्टर र डुङ्गा प्रयोग गरी फसेका बासिन्दाहरूलाई उद्धार गरिएको छ।

केन्द्रका अधिकारीहरूले बताएअनुसार यसपटकको बाढीको स्तर सन् २०१६ भन्दा बढी हुने अनुमान गरिएको छ, जब ७१ जनाको मृत्यु भएको थियो। सन् २००० पछि श्रीलङ्कामा आएको सबैभन्दा ठूलो बाढी सन् २००३ को जूनमा भएको थियो, जसमा २५४ जनाको मृत्यु भएको थियो।