२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

रुसको आक्रमणपछि कीभमा ६ लाखभन्दा बढी मानिस विद्युतविहीन

रुसको आक्रमणपछि कीभमा ६ लाखभन्दा बढी मानिस विद्युतविहीन

कीभ – युक्रेनको कीभ क्षेत्रमा रुसले गरेको रातभरको आक्रमणपछि ६ लाखभन्दा बढी मानिस विद्युतविहीन भएका छन्। ऊर्जा मन्त्रालयका अनुसार तीमध्ये ५ लाखभन्दा बढी राजधानी कीभमै छन् भने बाँकी वरपरका क्षेत्रमा रहेका छन्।

मन्त्रालयले विद्युत कटौतीको कारण मिसाइल र ड्रोन आक्रमणले ऊर्जा पूर्वाधारमा भएको क्षति बताए। अधिकारीहरूले शनिबारसम्म ३६ मिसाइल र करिब ६ सय ड्रोन युक्रेनका विभिन्न लक्ष्यमा प्रहार गरिएको जानकारी दिए। यस आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

रुसको रक्षा मन्त्रालयले “युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठान र तिनलाई सहयोग गर्ने ऊर्जा पूर्वाधार” माथि ठूलो आक्रमण गरिएको दाबी गरेको छ। ऊर्जा पूर्वाधारसँगै केही आवासीय भवनहरू पनि क्षतिग्रस्त भएका छन्।

कीभका मेयर भिटाली क्लिच्कोले १३ वर्षीया बालकसहित २९ जना घाइते भएको बताए। युक्रेनी वायुसेनाले ५५८ ड्रोन र १९ मिसाइल खसाल्न सफल भएको दाबी गरेको छ।

फेब्रुअरी २०२२ मा सुरु भएको रुसको पूर्ण आक्रमणपछि कीभलगायतका शहरहरू नियमित रूपमा हवाई आक्रमणको शिकार हुँदै आएका छन्। गत वर्षहरूमा जस्तै यसपटक पनि रुसले ऊर्जा पूर्वाधारलाई लक्ष्य बनाएपछि युक्रेनमा नियमित ‘ब्ल्याकआउट’को अवस्था देखिएको छ।

आगामी आइतबार कीभमा तापक्रम २ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ, जुन डिसेम्बरमा सामान्यतया शून्यभन्दा तल रहने गर्छ।

यसैबीच, युक्रेनले रुसका तेल शुद्धिकरण केन्द्र र भण्डारणस्थलहरूमा लामो दूरीका हतियार प्रयोग गरेर आक्रमण गरिरहेको छ। यसलाई रुसको युद्ध खर्च कम गर्ने रणनीति भनिएको छ।

नवीनतम आक्रमणको बीचमा युक्रेनी वार्ताकारहरू अमेरिकी अधिकारीहरूसँग छलफलको तयारी गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई शान्ति योजनाको मस्यौदा स्वीकार गर्न दबाब दिइरहेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिक प्रयासलाई स्वागत गर्दै युक्रेनको सार्वभौमिकता र भविष्यमा आक्रमण रोक्ने क्षमतामा जोड दिएका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने फेरि आफ्नो माग दोहोर्याउँदै युक्रेनी सेना रुसले दाबी गरेका भूभागबाट फिर्ता भए मात्र युद्ध रोक्ने बताए। हाल रुसले पूर्वी डोनबास क्षेत्रको अधिकांश भाग र दक्षिणी जपोरिज्जिया तथा खेरसोन क्षेत्रको केही भाग नियन्त्रणमा राखेको छ।