२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

एयरबस चेतावनीपछि ग्राउन्ड भएका विमानहरू पुनः सञ्चालनमा

एयरबस चेतावनीपछि ग्राउन्ड भएका विमानहरू पुनः सञ्चालनमा

फ्रान्स- फ्रान्सस्थित एयरोस्पेस कम्पनी एयरबसले दिएको चेतावनीपछि केही घण्टासम्म ग्राउन्ड भएका हजारौँ विमानहरू पुनः सामान्य सेवामा फर्किएका छन्। कम्पनीका अनुसार करिब ६ हजार ए–३२० विमान प्रभावित भएका थिए, जसमा अधिकांशलाई छिटो सफ्टवेयर अपडेट आवश्यक थियो। करिब ९ सय पुराना विमान भने नयाँ कम्प्युटर प्रतिस्थापन गर्नुपर्ने भएकाले अझै ग्राउन्ड रहनुपर्नेछ।

फ्रान्सका यातायात मन्त्री फिलिप टाबारोटले ५ हजारभन्दा बढी विमानमा अपडेट “सुगम रूपमा सम्पन्न भएको” बताए। उनका अनुसार १०० भन्दा कम विमानमा मात्र अझै अपडेट गर्न बाँकी छ।

शनिबार बिहान एयर फ्रान्सका केही उडानहरूमा ढिलाइ वा रद्द भएको देखिए पनि युरोपका अन्य देशहरूमा ठूलो समस्या देखिएन। तर अमेरिकामा यो समस्या थ्याङ्क्सगिभिङको व्यस्त यात्राको समयमै देखा परेकाले केही जटिलता भएको बताइएको छ। अमेरिकन एयरलाइन्सका ३४० विमान प्रभावित भए पनि अधिकांशमा शुक्रबार वा शनिबार अपडेट पूरा भएको छ। डेल्टा एयरलाइन्सले आफ्नो सञ्चालनमा “सीमित प्रभाव” मात्र पर्ने जनाएको छ।

बेलायतमा ग्याटविक विमानस्थलमा केही अवरोध भए पनि हिथ्रोमा कुनै रद्द भएको छैन। म्यानचेस्टर विमानस्थलले ठूलो समस्या नहुने जनाएको छ। ब्रिटिश एयरवेज र एयर इन्डिया भने खासै प्रभावित नभएको बुझिएको छ।

ईजीजेटले आफ्नो धेरै विमानमा अपडेट पूरा भएको र सामान्य रूपमा सञ्चालन हुने जनाएको छ। विज एयरले पनि रातभर अपडेट पूरा गरी नियमित सेवा सञ्चालन गरिरहेको छ।

अष्ट्रेलियामा बजेट एयरलाइन जेटस्टारले करिब एक तिहाइ विमान प्रभावित भएपछि ९० उडान रद्द गरेको छ। सप्ताहन्तभर अवरोध जारी रहने अनुमान गरिएको छ।

एयरबसले यो समस्या गत अक्टोबरमा अमेरिकाबाट मेक्सिकोतर्फ उडिरहेको जेटब्लु एयरवेजको विमान आकस्मिक अवतरण गर्नुपरेपछि पत्ता लगाएको हो। ती विमानको उचाइ गणना गर्ने कम्प्युटिङ सफ्टवेयर उच्च उचाइमा सूर्यको विकिरणले बिग्रन सक्ने देखिएको थियो।

ए–३२० मात्र नभई ए–३१८, ए–३१९ र ए–३२१ मोडेल पनि प्रभावित भएका छन्। करिब ५,१०० विमान सफ्टवेयर अपडेटमार्फत समस्या समाधान गर्न सकिन्छ भने करिब ९०० पुराना विमानमा कम्प्युटर प्रतिस्थापन आवश्यक छ। प्रतिस्थापनको समय भने नयाँ कम्प्युटर उपलब्धतामा निर्भर रहनेछ।