हङकङमा तीन दिनको शोक : ८० वर्षयताकै भीषण आगलागीमा १२८ जनाको मृत्यु
- १३ मंसिर २०८२
- १ मिनेटको पढाई
हङकङ- हङकङमा करिब ८० वर्षयताकै भीषण आगलागीमा कम्तीमा १२८ जनाको मृत्यु भएपछि शनिबारदेखि तीन दिनको शोक मनाइँदैछ। सरकारी मुख्यालय अगाडि आयोजित कार्यक्रममा शहरका प्रमुख जोन लीसहित अधिकारीहरूले तीन मिनेट मौन धारण गरे। चीन र हङकङका झण्डा आधा झुकाइएका छन्।
बुधबार वाङ फुक कोर्टका सात टावर ब्लकमा आगलागी हुँदा ७९ जना घाइते भएका छन् भने कैयौँ अझै बेपत्ता छन्। आगो नियन्त्रणमा ल्याउन २,००० भन्दा बढी दमकलकर्मीलाई करिब दुई दिन लाग्यो।
अधिकारीहरूले आगलागीको कारण अझै स्पष्ट नभएको बताए। तर भवनका झ्यालबाहिर टाँगिएका पोलिस्टाइरिन फोम, प्लास्टिक जाल र बाँसको स्क्याफोल्डिङले आगो तीव्र गतिमा फैलिएको उल्लेख गरिएको छ। यसले बाँसको प्रयोग अझै उपयुक्त छ कि छैन भन्ने बहस चर्काएको छ।
आगलागीका क्रममा खराब अवस्थामा रहेका फायर अलार्म र मर्मत कम्पनीको लापरबाहीबारे स्थानीय बासिन्दाले गुनासो गरेका छन्। हङकङको फायर सर्भिसले पनि आठै ब्लकमा अलार्म प्रभावकारी रूपमा काम नगरेको पुष्टि गरेको छ।
यस घटनामा संलग्न भएको आरोपमा आठ जनालाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ भने तीन जनालाई हत्या अभियोगमा पहिले नै पक्राउ गरिएको थियो। पक्राउ परेकामध्ये इन्जिनियरिङ कम्पनीका निर्देशक र स्क्याफोल्डिङ सब–कन्ट्र्याक्टरहरू रहेका छन्।
श्रम तथा कल्याण सचिव क्रिस सनले गत वर्ष जुलाईदेखि वाङ फुक कोर्टमा १६ पटक निरीक्षण गरिएको बताए। यो आवासीय क्षेत्र सन् १९८३ मा बनेको हो, जसमा १,९८४ अपार्टमेन्ट र करिब ४,६०० बासिन्दा बस्दै आएका थिए।
सरकारले शहरभर श्रद्धाञ्जली दिने स्थानहरू स्थापना गरेको छ, जहाँ सर्वसाधारणले श्रद्धाञ्जली दिन र संवेदना पुस्तिकामा हस्ताक्षर गर्न सक्नेछन्।