२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

दक्षिण कोरिया : राम्रो श्रम गन्तव्य भए पनि किन बढ्दै छ चिन्ता?

दक्षिण कोरिया : राम्रो श्रम गन्तव्य भए पनि किन बढ्दै छ चिन्ता?

काठमाडौं – नेपालका लागि दक्षिण कोरिया लामो समयदेखि आकर्षक श्रम गन्तव्य मानिँदै आएको छ। न्यूनतम दुई लाख रुपैयाँ मासिक तलब, बसोबास तथा कहिलेकाहीँ खानपान सुविधा, बचतको राम्रो सम्भावना र पाँच वर्षपछि थप पाँच वर्ष काम गर्ने अवसरले हजारौँ नेपालीलाई आकर्षित गरेको छ।

तर पछिल्लो समय त्यहाँ दुर्घटना र मानसिक स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाएको छ। श्रमविज्ञ मीना पौडेलका अनुसार भाषा परीक्षा पास गरेर जाने आत्मविश्वास कार्यस्थलमा पर्याप्त हुँदैन। नयाँ वातावरण, मौसम, प्रविधि र भाषिक कठिनाइले श्रमिकहरूलाई सहज बन्न कठिन हुन्छ।

सोलस्थित नेपाली दूतावासकी श्रम काउन्सिलर मैया कँडेलले हालै चार नेपालीको मृत्यु भएको उल्लेख गर्दै दुई आत्महत्या, एक औद्योगिक दुर्घटना र एक सडक दुर्घटनाले समस्या गम्भीर भएको बताइन्। भाषिक दक्षता नहुनु, निर्देशन नबुझ्नु, स्वचालित मेसिनमा काम गर्दा दुर्घटना हुनु, निद्राको कमी वा तनावले दुर्घटना बढेको देखिएको छ।

वैदेशिक रोजगार बोर्डको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा १९ नेपाली श्रमिकले ज्यान गुमाएका छन् भने ११ जना गम्भीर घाइते भएका छन्।