फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता, शान्ति योजनामा परिमार्जनको संकेत
- १४ मंसिर २०८२
- १ मिनेटको पढाई
फ्लोरिडा- फ्लोरिडाको वेस्ट पाम बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता भएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो, विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले युक्रेनी प्रतिनिधिमण्डलसँग प्रस्तावित शान्ति संरचनाबारे विस्तृत छलफल गरेका छन्।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकले भ्रष्टाचार अनुसन्धानपछि पदत्याग गरेका छन्, जसले वार्तामा नयाँ टोली गठन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। नयाँ टोलीमा सेनाप्रमुख, विदेशमन्त्री र सुरक्षा परिषद्का प्रमुख समावेश छन्।
ट्रम्पको २८–बुँदे प्रारम्भिक शान्ति योजनामा रूसपक्षीय प्रावधानहरू रहेको भन्दै आलोचना भए पनि वार्ताकारहरूले केही बुँदामा परिमार्जन भएको संकेत गरेका छन्। विवादित बुँदामध्ये डोनबास क्षेत्र रूसलाई हस्तान्तरण गर्ने प्रस्ताव प्रमुख रहेको छ।
युद्धको दबाबबीच वार्ता भइरहेका बेला किएभमा रूसी आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ। राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिनिधिमण्डलले युद्ध अन्त्यका लागि छिटो र प्रभावकारी कदम चाल्ने आशा व्यक्त गरेका छन्।
यस वार्ताले आगामी दिनमा मस्कोमा हुने सम्भावित उच्चस्तरीय छलफलका लागि आधार तय गर्ने अपेक्षा गरिएको छ।