विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए
- १६ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको रकम नेपाल भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण वृद्धि ११.९ प्रतिशत मात्र थियो। चालु आवको साउनमा २९.९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब पुगेको थियो भने भदौमा ३३.१ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५२ अर्ब पुगेको थियो।
पहिलो त्रैमासमा चालु खाता रु दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर रु दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब १५ अर्ब र शोधनान्तर रु एक खर्ब ८४ अर्ब बचतमा थियो।
यसै अवधिमा वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु ७२ अर्ब ७८ करोड पुगेको छ भने आयात १९.८ प्रतिशतले बढ्दै रु चार खर्ब ६८ अर्ब पुगेको छ। यसले व्यापार घाटा १२.२ प्रतिशतले बढाउँदै रु तीन खर्ब ९५ अर्ब ३० करोडमा पुर्याएको छ।