२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

एसियामा प्राकृतिक विपद्ः लाखौं मानिस घरविहीन

एसियामा प्राकृतिक विपद्ः लाखौं मानिस घरविहीन

न्युयोर्क- नोभेम्बर महिनामा सन् २०१२ पछि सबैभन्दा बढी वर्षा भएपछि एसियाका चार देशमा भीषण बाढी आएको छ। इन्डोनेसिया, श्रीलङ्का, थाइल्याण्ड र मलेसियामा बाढीका कारण हालसम्म १,२०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौं घरविहीन भएका छन्।

इन्डोनेसिया-
आचे, उत्तर सुमात्रा र पश्चिम सुमात्रा सबैभन्दा प्रभावित क्षेत्र बनेका छन्। सुमात्रामा मात्रै ७१२ जनाको मृत्यु भएको छ भने अझै ५०० जना हराइरहेका छन्। करिब १२ लाख मानिस घरविहीन भएका छन्। सडक पहुँच अवरुद्ध हुँदा इन्धन र खाद्य सामग्रीको अभाव गम्भीर बनेको छ। सरकारले ३४ हजार टन चामल र ६.८ लाख लिटर तेल प्रभावित क्षेत्रमा पठाएको छ।

श्रीलङ्का-
भारी वर्षाका कारण कम्तीमा ४१० जनाको मृत्यु भएको छ र ३३६ हराइरहेका छन्। राष्ट्रपति अनुरा कुमार दिसानायकले यसलाई ‘इतिहासकै चुनौतीपूर्ण प्राकृतिक विपद्’ भन्दै आपतकालीन घोषणा गरेका छन्। श्रीलङ्काको वायु सेना भारत र पाकिस्तानका सहयोगीसहित उद्धार तथा राहत वितरणमा सक्रिय छ। राजधानी कोलम्बोमा पानी घट्दै गएको भए पनि मध्य क्षेत्रमा पहिरोको चेतावनी जारी छ।

थाइल्याण्ड र मलेसिया-
दक्षिण थाइल्याण्डमा कम्तीमा १७६ जनाको मृत्यु भएको छ भने मलेसियामा दुई जनाको मृत्यु भएको छ।

सामान्य अवस्था: बाढीको पानी धेरै भागमा घटिसकेको भए पनि प्रभावितहरू शरणस्थलमा बसिरहेका छन्। खानेपानी, भोजन र इन्धनको अभावले जीवन कठिन बनेको छ। मूल्यवृद्धि र यातायात अवरुद्धताले प्रत्यक्ष प्रभावित नभएका क्षेत्रमा समेत खाद्य संकट देखिएको छ।