२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एकै दिन १७ स्थानमा आगलागी, करोडौंको क्षति

एकै दिन १७ स्थानमा आगलागी, करोडौंको क्षति

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्सिर १५ बिहानदेखि १६ बिहानसम्म देशभर २० वटा विपद् घटनाको विवरण प्राप्त गरेको छ। तीमध्ये १७ वटा आगलागीका घटना मात्र रहेका छन् भने बाँकी तीन घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमण समावेश छन्। पर्सामा ५५ वर्षीया एक महिला जंगलमा घास काट्ने क्रममा बाघको आक्रमणबाट घाइते भएकी छन्।

आगलागीका घटनाले रु ८२ लाख ९१ हजार बराबरको क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ। सिरहा, भोजपुर, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा आगलागी भएका थिए।

अधिकांश आगलागी असावधानीका कारण भएको देखिन्छ—गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बाल्दा, विद्युत् तार सर्ट हुँदा वा विद्युतीय सवारी साधनमा अचानक आगो लाग्दा।

प्राधिकरणको विवरणले जनधनको क्षति रोक्न सामान्य सावधानी पर्याप्त हुने भए पनि जनचेतनाको अभाव र असावधानी नै प्रमुख कारण बनेको औँल्याएको छ।