दिनेश सुनार बने आइजीटी विजेता, २२औं विश्व कीर्तिमान कायम
- १७ मंसिर २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- नेपाली-अमेरिकी जिम्नास्टिक्स खेलाडी दिनेश सुनारले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम इतिहासमा लेख्न सफल भएका छन्। अमेरिकाको शिकागोमा सम्पन्न थ्रीआइआइआइ अन्तर्राष्ट्रिय भारतीय आइकन (आइजीटी) सिजन ९ को फिनालेमा उनले आइजीटी विधामा विजेता बनेका छन्।
सनशाइन टाइकोन्डो एकेडेमी टोलीका सदस्यसमेत रहेका सुनारले उत्कृष्ट प्रदर्शनका आधारमा प्रतिष्ठित जजेज च्वाइस अवार्ड प्राप्त गरे। निर्णायकहरूले उनको प्रदर्शनलाई असाधारण भन्दै प्रशंसा गरेका थिए। विशेषगरी अन्धो आँखाले र हातकडामा गरिएको ब्याकफ्लिपलाई अत्यन्तै जोखिमपूर्ण र दुर्लभ कौशलको रूपमा वर्णन गरिएको छ।
यस सफलतासँगै सुनारले आफ्नो २२औं आधिकारिक विश्व कीर्तिमान कायम गरेका छन्। प्रतियोगितामा अमेरिकाको ओहायो, न्युयोर्क, शिकागो, न्युजर्सी लगायतका स्थानबाट आएका उत्कृष्ट प्रतिभाहरूमध्ये उनले कडा प्रतिस्पर्धा पार गर्दै शीर्ष स्थान हासिल गरेका हुन्।