२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

इलिनोइसमा भाडाका गाडीमा नम्बर प्लेट फेरबदल गर्न नपाइने चेतावनी

इलिनोइसमा भाडाका गाडीमा नम्बर प्लेट फेरबदल गर्न नपाइने चेतावनी

न्युयोर्क – इलिनोइस राज्यका अधिकारीहरूले राष्ट्रिय स्तरका भाडाका गाडी कम्पनीहरूलाई आधिकारिक पत्र पठाउँदै आप्रवासन नियन्त्रण एजेन्टहरूले भाडाका गाडीमा नम्बर प्लेट फेरबदल गर्न नपाइने चेतावनी दिएका छन्। यस्तो कार्य गैरकानुनी हुने र कम्पनीहरू स्वयं जिम्मेवार ठहरिने उल्लेख गरिएको छ।

अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजले सार्वजनिक गरेको विवरणअनुसार, शिकागो क्षेत्रमा ‘अप्रेशन मिडवे ब्लिट्ज’ नामक ठूलो निर्वासन अभियान चलिरहेको बेला सार्वजनिक उजुरीका आधारमा इलिनोइस सचिवालयले कम्तीमा १९ वटा भाडाका गाडी कम्पनीलाई पत्र पठाएको हो। अलामो, एन्त्रप्राइज, बजेट, हर्ट्ज, एसलगायत कम्पनीहरूलाई पठाइएको पत्रमा नम्बर प्लेट फेरबदलको गुनासो आएको उल्लेख छ।

एक गाडीको नम्बर प्लेट फिर्ता लिइएको पनि पुष्टि भएको छ। २०२६ मोडेलको शेभ्रोले टाहो गाडीमा आप्रवासन एजेन्टहरूले प्लेट फेरबदल गरेको प्रमाण भेटिएपछि उक्त प्लेट अमान्य गरिएको हो।

इलिनोइस सचिवालयले अक्टोबरमा अमेरिकी गृह सुरक्षा विभाग (DHS) र आईसीईका कार्यकारी निर्देशकलाई ‘सीज एन्ड डेसिस्ट’ पत्र पठाउँदै, प्लेट फेरबदल गैरकानुनी भएको र यसले जरिवाना तथा जेल सजायसम्मको सजाय हुन सक्ने चेतावनी दिएको थियो।

फेडरल निकाय DHS ले भने आफ्नो एजेन्टहरूले संघीय कानुनअनुसार काम गर्ने र राज्य कानुन पनि पालना गर्ने प्रयास गर्ने तर संघीय अभियानमा बाधा पुर्‍याउने अवस्था भए अपवाद हुने प्रतिक्रिया दिएको छ।

यसबीच, इलिनोइसले ‘प्लेट वाच’ नामक हॉटलाइन सुरु गर्दै नागरिकलाई अवैध वा शंकास्पद नम्बर प्लेटबारे जानकारी दिन आग्रह गरेको छ। सचिव एलेक्सी जियानुलियसले, “नम्बर प्लेट फेरबदल वा लुकाउने काम गैरकानुनी हो। जब आईसीई एजेन्टहरूले प्लेट साटेको प्रमाण भेट्यौं, तुरुन्तै प्लेट फिर्ता लियौं। सार्वजनिक सुरक्षामा कोही पनि कानुनभन्दा माथि छैन,” भन्दै नागरिकलाई निरन्तर रिपोर्ट गर्न आग्रह गरेका छन्।