यू–१९ एसिया कप : नेपाल श्रीलङ्कासँग पहिलो खेल खेल्ने
- १७ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं – एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि सुरु हुनेछ।
प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन्।
नेपालको पहिलो खेल श्रीलङ्कासँग डिसेम्बर १३ मा हुनेछ। दोस्रो खेल डिसेम्बर १५ मा बङ्गलादेशविरुद्ध र तेस्रो खेल डिसेम्बर १७ मा अफगानिस्तानविरुद्ध हुनेछ। नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन्।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, जुन डिसेम्बर १९ मा खेलिनेछ। उपाधि भिडन्त भने डिसेम्बर २१ मा हुनेछ।