२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

पुटिन–ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको सङ्केत’

पुटिन–ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको सङ्केत’

वासिङ्टन- मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पाँच घण्टा लामो उच्चस्तरीय वार्ता गरेका छन्। सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन द्वन्द्वलाई अन्त्यतिर लैजाने उद्देश्यले भएको उक्त छलफललाई ट्रम्पले ‘युद्ध अन्त्यको संकेत’भएको टिप्पणी गरेका छन्।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पुटिनले सकारात्मक प्रतिक्रिया दिएको र अमेरिकी टोलीले ‘युद्ध अन्त्यतिर लाग्ने इच्छा’ देखेको अनुभूति गरेको बताए। तर उनले ठोस निष्कर्ष निकाल्न अझै समय लाग्ने उल्लेख गरे।

क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले वार्तालाई द्वन्द्व सुरु भएदेखि भएको सबैभन्दा व्यापक आदानप्रदान भने पनि ठोस सम्झौता नभएको पुष्टि गरे। उनका अनुसार समाधानका सम्भावित मार्गहरूको समीक्षा भए पनि प्रमुख विवादहरू यथावत् छन्।

रुसी पक्षबाट लगानी दूत किरिल दिमित्रिभसहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको वार्तामा अमेरिकाले नयाँ प्रस्तावहरू पेस गरेको पुष्टि भएको छ। तर युक्रेनी भूभागसँग सम्बन्धित जटिल मुद्दा प्रमुख अवरोध बनेको छ।

दुवै पक्षले वार्ताको विवरण गोप्य राख्ने सहमति गरेका छन्। उसाकोभले पुटिनले विटकफमार्फत राष्ट्रपति ट्रम्पलाई ‘महत्त्वपूर्ण राजनीतिक सन्देशहरू’ पठाएको बताए।

यसअघि पुटिनले युरोपेली सङ्घका सरकारहरू शान्ति प्रक्रियामा अवरोध पुर्‍याउने उद्देश्यले प्रस्ताव अघि सारिरहेको आरोप लगाएका थिए।