४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

एनपिएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा, चितवन ४९ रनले पराजित

एनपिएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा, चितवन ४९ रनले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राख्दै चितवन राइनोजलाई ४९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले लगातार छैटौं जित निकाल्दै १२ अंक जोडेको छ।

पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर १६९ रन बनायो। ओपनर क्रिस लिनले ५६ बलमा ७५ रनको शानदार पारी खेले, जसमा तीन छक्का र पाँच चौका समावेश थिए। उनले रिटायर्ट हर्ट हुनुअघि टोलीलाई बलियो आधार दिएका थिए। आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४–२४ रन बनाए भने बिनोद भण्डारीले २१ रनको योगदान दिए।

१७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७.१ ओभरमै १२० रनमा अलआउट भयो। रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्।

सुदूरपश्चिमका बलर पुनित मेहराले तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले एक–एक विकेट हात पारे। तीन ब्याटर रनआउट भए। चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक–एक विकेट लिए।