२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शुक्रबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भमा विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए।

सो अवसरमा राजदूत तोरुले नेपाल सरकारले समयमै चुनाव गराउने प्रतिबद्धताको प्रशंसा गर्दै जापान सरकार आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको दोहोर्याए।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरिन्।