अमेरिकामा एफ–१६ लडाकु विमान दुर्घटना, पाइलटको ज्यान बच्यो
- १९ मंसिर २०८२
- १ मिनेटको पढाई
वासिङ्टन – अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा बिहीबार युएस एयरफोर्सको एफ–१६ लडाकु विमान दुर्घटनामा परेको छ। नेपाली समयअनुसार राति करिब १२:४५ बजे ट्रोना शहर नजिकको मरुभूमिमा विमान खसेको हो। दुर्घटनाको केही सेकेन्डअघि पाइलटले सीट छोडेर प्यारासुटमार्फत बाहिर निस्कन सफल हुँदा ज्यान बचाउन सके। उनलाई सामान्य चोट लागेर अस्पताल लगिएको छ।
विमान थन्डरबर्ड्स स्क्वाड्रनको थियो, जसले लास भेगास नजिकैको नेलिस एयरफोर्स बेसबाट तालिम तथा एयर शो सञ्चालन गर्छ। दुर्घटनाको कारण अझै खुल्न बाँकी छ। प्रारम्भिक जानकारीअनुसार विमान चीनालेक नेभल एयर वेपन्स स्टेशननजिक खसेको हो।
एफ–१६ फाइटिङ फाल्कनको मूल्य करिब १८.८ मिलियन डलर (१.७० हजार करोड रुपैयाँ) पर्छ। यो मल्टि–रोल फाइटर जेट सन् १९७० दशकमा डिजाइन गरिएको हो र अहिले लकेहिड मार्टिनले उत्पादन गर्छ। पाकिस्तानलगायत २५ भन्दा बढी देशले प्रयोग गर्ने यो विमान २४१४ किमी प्रतिघन्टा गतिमा उड्न सक्छ र आधुनिक रडार तथा हतियार प्रणालीसहित खराब मौसममा पनि उडान भर्न सक्षम छ।
सन् १९७४ मा पहिलो उडान भरेको एफ–१६ आजसम्म ४६ सयभन्दा बढी संख्यामा आपूर्ति भइसकेको छ। तर ३२ वर्षमा करिब ७५० पटक दुर्घटनामा परेको तथ्यांक छ, जसमा अधिकांश घटना युद्ध नभई तालिम वा स्टन्ट उडानका क्रममा भएका छन्।