मोदी–पुटिन भेट : भारत तटस्थ होइन, शान्तिको पक्षमा
- १९ मंसिर २०८२
- १ मिनेटको पढाई
नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै रूस–युक्रेन युद्धबारे भारतको स्पष्ट सन्देश दिएका छन्।
मोदीले भने, “भारत निष्पक्ष छैन, भारत शान्तिको पक्षमा छ।” उनले युद्ध तत्काल अन्त्य हुनुपर्ने र यसको समाधान केवल संवाद तथा कूटनीतिक प्रयासबाट सम्भव हुने बताए। मोदीले जोड दिए, “दुनियालाई फेरि शान्तिको जरुरत छ, भारत शान्तिका सबै प्रयासको समर्थन गर्छ।”
पुटिनले पनि रूस शान्तिपूर्ण समाधानका लागि काम गरिरहेको जिकिर गरे। हैदराबाद हाउसमा भएको बैठकपछि केही बेरमै २३औँ भारत–रूस शिखर सम्मेलन सुरु भएको छ, जसमा २५ भन्दा बढी समझौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
यसअघि बिहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा पुटिनलाई २१ तोपको सलामी र गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यसपछि उनले राजघाटमा पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जलि अर्पण गरे।
मोदीले पुटिनसँगको मित्रतालाई उच्च प्रशंसा गर्दै भने, “म पुटिनलाई २५ वर्षदेखि चिन्छु। भारत–रूसको मित्रता दूरदर्शी नेतृत्वले सम्बन्धलाई कसरी बलियो बनाउन सक्छ भन्ने उदाहरण हो।”