२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एमच्याम नेपालद्वारा अमेरिकामा द्विपक्षीय व्यापार र ऊर्जा साझेदारीमा छलफल

एमच्याम नेपालद्वारा अमेरिकामा द्विपक्षीय व्यापार र ऊर्जा साझेदारीमा छलफल

न्युयोर्क- अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले डिसेम्बर १ मा वासिङ्टन डिसीस्थित अमेरिकन चेम्बर अफ कमर्शको केन्द्रीय कार्यालयमा नेपालमा अमेरिकी लगानीका सम्भावनाबारे उच्चस्तरीय छलफल गरेको छ।

बैठकमा अमेरिकी डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ कमर्श, कमर्सियल सर्भिसेस तथा यूएस चेम्बर अफ कमर्शका वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए। छलफलमा द्विपक्षीय व्यापार, आर्थिक कूटनीति, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक तथा सेवामूलक उद्योगमा साझेदारी र सहकार्यका सम्भावनाबारे चर्चा भयो।

एमच्याम नेपालले जलविद्युत् क्षेत्रमा मात्रै करिब १० अर्ब अमेरिकी डलर लगानीको सम्भावना रहेको प्रस्तुत गर्दै नेपालमा निजी क्षेत्रका लागि ठूलो अवसर रहेको उल्लेख गर्‍यो। संस्थापक अध्यक्ष अजित शाहले एमच्याम नेपाललाई दुवै देशका लगानीकर्ताका लागि बलियो माध्यमका रूपमा व्याख्या गर्दै ऊर्जा, प्रविधि र डिजिटल नवप्रवर्तनमा ठूलो अवसर रहेकोमा जोड दिए।

अमेरिकी अधिकारीहरूले नेपालमा आइसिटी क्षेत्रमा भएको नीतिगत सुधारको प्रशंसा गर्दै नेपाली कम्पनीलाई अमेरिकामा सब्सिडरी कार्यालय खोल्न बाटो खुलेको बताए। यूएस चेम्बर अफ कमर्शका निर्देशक प्याट्रिक पिटले पूर्वानुमान योग्य नियम, पारदर्शी कानुन र निरन्तर कार्यान्वयन अमेरिकी लगानीकर्तालाई आकर्षित गर्ने मुख्य तत्व भएको बताए।

कार्यक्रममा एमच्याम नेपालले शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादन, डाटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ सुविधामा रणनीतिक अवसर प्रस्तुत गर्‍यो। नेपालमा करिब ९२ प्रतिशत जलविद्युत् क्षमता अझै अविकसित रहेको र यस क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानीको अनुमति रहेको उल्लेख गरियो।